Email

info@garimacement.com

Address

Link Marg, Kalanki-14 Kathmandu

Phone

01-4031674

२० बर्षे बैंकिङबाट हराएका राजाराम उद्यमीका रुपमा उदाए, अर्ब लगानीमा शुभलक्ष्मी सिमेन्ट

काठमाडौं। दुई बर्षअघि इन्टरनेशन डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकमा मर्जर भयो। इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत थिए राजाराम खड्का।

एनसिसीमा मर्जर भएको केही महिनामै उनले राजीनामा दिए। बाणिज्य बैंकको उपमहाप्रवन्धकबाट दिएको राजीनामा मात्रै थिएन त्यो, २० बर्षे बैंकिङ करियरमा समेत पूर्णविराम थियो।

नबिल, एनआइसी एशिया, एभरेष्ट लगायतका बैंकमा काम गरेका खड्का पछिल्लो दुई वर्ष राजधानीका भीडभाडबाट हराए।

दुई बर्षपछि अर्थात २०७५ माघ २० गते एकाएक उनले फेसबुकमा लेखे ‘शुभलक्ष्मी सिमेन्ट उद्योग प्रा. लि. कपिलवस्तुबाट उत्पादित “गरिमा गोल्ड” OPC तथा “गरिमा” PPC सिमेन्ट प्रयोग गर्न अनुरोध गर्दै हामीलाई शुभकामना दिइ हौसला प्रदान गर्ने सम्पुर्ण व्यक्तिहरुमा हार्दिक धन्यवाद …..’

दुई बर्षको अन्तरालमा उनको परिचय उद्योगीका रुपमा रुपान्तरण भयो। बैंकिङ करियरबाट बिदा लिनेवित्तिकै दुई बर्ष यही शुभलक्ष्मी सिमेन्ट स्थापनाका लागि उनले बिताए। उनी शुभलक्ष्मी सिमेन्टका प्रबन्ध निर्देशक छन्।

बैंकिङ करियर छाडेको केही समयमै उनले सिमेन्ट उद्योग स्थापनाका लागि अध्ययन सुरु गरेका थिए। केही समयमै उद्योग स्थापनाका लागि टिम पनि तयार भयो। पाँच जनाको समूह मिलेर दुई बर्षअघि कपिलवस्तुको चन्द्रौटामा उद्योगको पूर्वाधार निर्माण सुरु भयो।

‘मैले २० बर्षे बैंकिङ करियर छाडेर नेपालका लागि आवश्यक उद्योग गर्ने योजना बनाए। यो योजनामा चार जना अरु साथीहरुले साथ दिएपछि सिमेन्ट उद्योगमा लागेको हो’ उनले भने, ‘हामी सबैको इफोर्टले मूर्तरुप पायो र सोचेभन्दा चाँडै उद्योग पनि आउन सफल भयो।’ उद्योगका अरु सञ्चालक निर्माणसँग सम्वन्धित व्यवसायमा आवद्ध व्यवसायी छन्। उद्योगको चेयरम्यान रामकुमार थापा हुन्। उनी गौरी पार्वती निर्माण सेवाका समेत अध्यक्ष हुन्।

दुर्इ बर्ष लगाएर कपिलवस्तुको चन्द्रौटामा ११ विघा जमिनमा स्थापित उद्योगबाट सिमेन्ट उत्पादन सुरु भइसकेको छ। गरिमा गोल्ड ओपिसी र गरिमा पिपिसी सिमेन्ट उत्पादन गरेर गुणस्तर चिन्ह लिने प्रकृयामा छ।

एक अर्ब लगानीमा स्थापना भएको उद्योगसँग दुईवटा ग्राइन्डिङ युनिट छ। एउटा युनिटबाट पिपिसी र अर्कोबाट ओपिसी सिमेन्ट उत्पादन हुन्छ। उद्योगले केही समयपछि आफ्नै क्लिकंर समेत उत्पादन गर्छ।

बैंकर भर्सेस उद्योगी
बैंकमा रहँदा उद्योगीको फाइल पल्टाउने खड्का आफैं फाइल बोकेर ऋण खोज्न धाउने भूमिकामा देखिए। ‘हो मेरो लागि उद्योग फरक भूमिका थियो। मैले धेरै फाइल हेरेर ऋण दिए तर अहिले लिने अवस्था हुँदा उद्योगीको ग्राउण्ड रियालिटी बुझ्ने अवसर पाए’ उनले बिजमाण्डूसँग भने, ‘ऋण लिन आउँदा उद्योगीप्रति अलि कसिकसाउनै गर्ने रहेछौं। हामीले उद्योगीको मनोभावना बुझ्ने गरेका रहेनछौंजस्तो लाग्यो।’

बैंकर हुँदा हरेक प्रपोजललाई शंकाको दृष्टिकोणबाट हेरेकोमा पनि उनलाई पछुतो पनि छ। ‘कहिलेकाँही उद्योगीले अल्पकालिन ऋण माग्थे। तर मैले शंकाको दृष्टिकोणले हेर्थे तर अहिले आफै उद्योगी हुँदा कतिपय वास्तविक कारणले पनि ऋण चाहिने हुँदोरहेछ’ खड्काले भने, ‘तर बैंकिङ क्षेत्र हाइली रेगुलेटेड क्षेत्र पनि हो। त्यसैले फरक फरक भूमिकामा आफ्नो भूमिका निभाइरहेको छु जस्तो लागेको छ।’

टिक्ने कसरी?
बैंकरबाट उद्योगी बनेका खड्कासँग सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्ने योजना पनि छन्। ठूला जायन्ट सिमेन्ट उद्योग आउँदा पनि हजार टनको ग्राइन्डिङ उद्योग कसरी प्रतिस्पर्धा गर्न सक्छ?

’हामीसँग तीन दशकदेखि निर्माण व्यवसायमा आवद्ध व्यवसायीहरु संचालक हुनुहुन्छ। हाम्रो स्ट्रेन्थ भनेको त्यही हो’ उनले भने, ’तर हामीले पनि केयरफूल भएर अगाडि बढ्छौं। जायन्ट प्लेयरसँग प्रतिस्पर्धा गर्न हामीसँग पनि आफ्नै क्लिकंर उद्योग पनि छ।’

उद्योगसँग अर्घाखाँची र रोल्पामा खानी छ। उनी अहिले सिमेन्टको बजार सुस्ताएकोमा त्यति चिन्तित छैनन्। ‘तत्कालको बजार हेर्दा सिमेन्टको बजार सुस्ताएको पक्कै हो। तर हामीले दीर्घकालिन रुपमा हेर्दा सिमेन्टको बजार अथाह छ’ खड्काले भने, ’विकास निर्माणको काम राम्रो भए बजारको चिन्तानै लिनुपर्दैन्।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *